गत आर्थिक वर्षमा वीरगन्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

0 Shares

वीरगन्ज ९पर्सा० — गत आर्थिक वर्षमा वीरगन्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन भित्रिएका छन् । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन् ।

सवारीसाधनको आयातबाट दोस्रो धेरै राजस्व संकलन हुँदै आइरहेको छ । गत आवभरिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र १७ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

गत आवमा छ अर्ब ६० करोड रुपैयाँ मूल्यका ५० हजार २९१ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएका छन् । ती सवारी आयातबाट यस नाकाले छ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवमा दुई अर्ब ९४ करोड रुपैयाँ मूल्यका एक हजार ४५४ वटा अन्य बस तथा ट्रकका चेसिस आयात भएका छन् ।

त्यसैगरी, सोही अवधिमा दुई अर्ब एक करोड रुपैयाँ मूल्यका नौ सय १२ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका छन् । गत आवमा नै एक अर्ब ३७ करोड रुपैयाँ मूल्यका पाँच हजार ७३५ वटा ट्रयाक्टर तथा ट्रिलर आयात भएका छन् ।

सोही अवधिमा एक अर्ब ११ करोड रुपैयाँ मूल्य पर्ने ४१७ वटा इन्धनबाट चल्ने बस यहाँ भित्रिएका छन् । सोही अवधिमा ७१ करोड रुपैयाँका एक सय ३९ वटा क्रङ्क्रिट मिश्रण लहरी आयात भएका छन् भने ७४ करोड रुपैयाँको तीन सय १२ वटा ट्रक, मिनी ट्रक आयात भएका छन् ।

त्यसैगरी, सोही अवधिमा ४३ करोड ३१ लाख रुपैयाँ मूल्यका चार हजार ६४६ वटा मोटरसाइकल आयात भएका छन् । वीरगन्ज नाका हुँदै गत आवमा एक अर्ब ६४ करोड रुपैयाँ मूल्यका साना–ठूला दुई हजार ३३७ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए । वीरगन्ज भन्सारले गत वर्ष विद्युतीय सवारीसाधन आयातबाट एक अर्ब ८० करोड ४५ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।