विश्वकप अभ्यास खेलमै नेपालको पहिलो जित

0 Shares

काठमाडौँ — दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकपको आफ्नो पहिलो अभ्यास खेलमा मंगलबार यूएईलाई सजिलै ७ विकेटले पराजित गरेको छ ।

तेस्रो पटक विश्वकप खेलेको नेपालले अभ्यास खेल नै जितेको यो पहिलो अवसर हो । २०१४ मा पहिलो पटक विश्वकप खेल्ने क्रममा बंगलादेशमा नेपाललाई अभ्यास खेलमा आयरल्यान्डले ५ विकेट र यूएईले ६ विकेटले पराजित गरेको थियो ।

यूएईसँग नेपालले निर्धारित २० ओभर खेली ९९ रनमा अलआउट भएको थियो । दुई वर्षअघि अमेरिकामा नेपाललाई अभ्यास खेलमा क्यानडाले ६३ रनले पराजित गरेको थियो । त्यस्तै अमेरिकासँगको अभ्यास खेल मौसमका कारण एक बल पनि नफाली रद्द भएको थियो ।

चेन्नईको चेपकस्थित एमए चिदाम्बरम रंगशालामा नेपालले टस जितेपछि कसिलो बलिङ गरेको थियो, जसका कारण पहिला ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ४५ रनमात्र बनाउन सक्यो ।

दीपेन्द्र र आरिफले चौथो विकेटमा १ सय ३ रनको अविजित साझेदारी गरेपछि नेपालले १७ ओभरमै १ सय ४८ रन बनाएको थियो । उपकप्तान दीपेन्द्रले ५० रन बनाए । उनले ३१ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । आरिफ ३७ बल खेली ६१ रनमा अविजित रहे । आरिफले ८ चौका र २ छक्का प्रहार गरे ।

ओपनर कुशल भुर्तेल २ चौका प्रहार गरेपछि ८ रनमा मोहम्मद रोहिदको बलमा विकेटको पछाडि क्याच दिन पुगे । आसिफ शेख ६ बलमा ८ र कप्तान रोहित पौडेल १९ बलमा १६ रन बनाई आउट भए । दुवै रनआउट हुन पुगेका थिए । यसअघि यूएईबाट साहिद खान ३८ रन बनाई अविजित रहे ।

उनले २७ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । हर्षित कौशिकले २४ बल खेली ३ चौका र २ छक्कासहित ३५, आर्यान्श शर्माले १७ बलमा ३ चौका र १ छक्का प्रहार गरी २५, मोहम्मद जाहिदले १९ र आलिसान सराफुले १२ रन बनाए ।

करण केसीले पहिलो ओभरमै कप्तान मोहम्मद वासिमलाई ६ रनमा बोल्ड गरेपछि यूएईले खुलेर खेल्न सकेन । करणले ३ ओभरमा २६ र सन्दीप लामिछानेले ४ ओभरमा २४ रन खर्चेर २–२ विकेट लिए । दीपेन्द्रले ३ ओभरमा १२ रनमात्र खर्चेर १ विकेट लिएका थिए ।

नेपालले बिहीबार क्यानडासँग चेन्नईमै दोस्रो अभ्यास खेल खेल्नेछ । नेपालले विश्वकपको सबै खेल मुम्बईमा खेल्नेछ । दुई पटकको च्याम्पियन इंग्ल्यान्डसँग आइतबार खेलेर नेपालले विश्वकप यात्रा प्रारम्भ गर्नेछ ।