जेनजी आन्दोलनमा को-को कलाकार सहभागी थिए ? यस्तो छ सूची

0 Shares

भ्रष्ट्राचार र सुशासनविरुद्ध गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा क्रममा कलाकर्मीहरूको पनि उल्लेख्य सहभागिता रह्यो । केही कलाकारले सामाजिक सञ्जालमा स्टाटस लेखेर आन्दोलनको समर्थन गरे भने केही सडकमै उत्रिए ।

चलचित्रकर्मीहरूदेखि लिएर टिकटकर, युट्युबर, इन्फ्लुएन्सरहरु पनि आन्दोलनमा सहभागी भएका थिए । उनीहरूमध्ये केही विवादमा पनि आए । यद्यपि, कलाकारले भने कुनै पनि गलत क्रियाकलापमा सहभागी नभएको र राम्रो नियतले आन्दोलनलाई समर्थन र ऐक्यबद्धता जनाएको बताउँदै आएका छन् ।

नेपाली सेनाले आन्दोलनमा को-को कलाकार सहभागी थिए भनेर सूची बनाएको छ । सेनाको सूची अनुसार ४५ जना चलचित्रकर्मी, टिकटकर, युट्युबर र इन्फ्लुयन्सरहरु सडकमा निस्किएका थिए । यो सूची केवल आफ्नो नोटिसका लागि मात्रै बनाएको सैन्य स्रोतले बताएको छ ।

‘कुनै बेला चाहिन सक्छ भनेर सूची बनाइएको हो, यसका आधारमा कसैमाथि पनि अनुसन्धान भएको छैन,’ स्रोतले भन्यो ।

आन्दोलनमा भौतिक सहभागिता जनाउने कलाकर्मीको सूचिमा निश्चल बस्नेत, रिमा विश्वकर्मा, विजय लामा, अमनप्रताप अधिकारी, कालीप्रसाद बाँसकोटा, चेतन सापकोटा लगायत ४५ जनाको नाम छ । यस्तै सामाजिक सञ्जालबाट समर्थन जनाउनेमा हरिवंश आचार्य, मदनकृष्ण आचार्य, ऋचा शर्मा, अनमोल केसीदेखि प्रियंका कार्कीसम्म छन् ।

सूचि उपलब्ध गराएका नेपाली सेनाका एक उच्च अधिकारीले भने, ‘यो सूची हामीले बनाएका हौं, तर संस्थागत होइन । भोलि कसैमाथि अनुसन्धान भयो भने पहिचान गर्न सहज होस् भनेर तयार गरिएको हो ।’