तुलसीपुर कारागारबाट भागेका ७२ कैदीबन्दी पक्राउ

0 Shares

दाङ — तुलसीपुर कारागारबाट भागेका ७२ कैदीबन्दी पक्राउ परेका छन् । मंगलबार र बुधबार भागेका २ सय ५३ जनामध्ये शुक्रबार बेलुकासम्म ७२ जनालाई पक्राउ गरिसकेको र अन्यको खोजी भइरहेको कारागार प्रमुख गिर बहादुर सेजुवालले जानकारी दिए ।

भागेका कैदीबन्दीलाई फर्कन आह्वान गरेको र कतिपय आफै पनि सम्पर्कमा आएको उनले बताए । कतिलाई प्रहरीले खोजेर पक्राउ गरिरहेको सेजुवालले जानकारी दिए । उनका अनुसार विभिन्न जिल्लाबाट पक्राउ पर्ने क्रम चलिरहेको र जिल्ला बाहिर पक्राउ परेकालाई हाल सम्बन्धित जिल्ला कारागारमै राख्न लगाइएको छ ।

जेन–जी आन्दोलनका क्रममा नख्खु कारागार लगायत विभिन्न कारागारबाट कैदीबन्दी भाग्ने क्रम सुरु भएपछि तुलसीपुरबाट पनि कैदीबन्दी भागेका थिए । मंगलबार बेलुका आफै होहल्ला गर्दै निस्किएका कैदीबन्दीलाई रोक्न प्रहरीले हवाई फायर गरे पनि उनीहरू मूलगेट तोडेर भागेका थिए ।

मंगलबार बेलुका कारागारको ‘ख’ ब्लकबाट १ सय २४ जना भागेका थिए भने बुधबार ‘क’ र ‘ख’ ब्लकबाट थप १ सय २९ जना भागेका थिए । कारागारमा ४ सय ६९ कैदीबन्दी रहेका थिए । कारागारमा तीन ब्लक रहेकोमा ग ब्लकमा महिला कैदीबन्दी रहेका छन् । उनीहरू भने भागेनन् ।