जेन-जी प्रदर्शनमा लुटिएका सामान खरिद बिक्री गर्दै हुनुहुन्छ, प्रहरीले दियो कडा कारवाही गर्ने चेतावनी

0 Shares

काठमाडौँ / के तपाईँ भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा लुटिएका तथा चोरिएका सामान खरिद बिक्री गर्दै हुनुहुन्छ ? यदी उक्त सामान खरिद बिक्री गर्दै हुनुहुन्छ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

सिआइबीले प्रदर्शनका क्रममा लुटिएका सामान तथा चोरीबाट प्राप्त वस्तुहरू बजारमा देखिएको भन्दै सर्वसाधारणलाई ती सामग्रीहरू किने–बेच नगर्न आग्रह गरेको छ। ब्यूरोले यसरी किने–बेच, सञ्चय वा लुकाउने काम फेला परे कडा कानुनी कारबाही गरिने स्पष्ट पारेको छ।

ब्यूरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, बैंक तथा वित्तीय संस्था लगायतका स्थानमा आगजनी र तोडफोड हुनुअघि ऐतिहासिक दस्तावेज, बहुमूल्य वस्तु, नगद र अन्य महत्त्वपूर्ण सामान लुटिएको र ती सामानहरू सामान्य बजारमा बिक्री वितरण भइरहेको भन्ने सूचना प्राप्त भएको छ। यो सूचनाका आधारमा सीआईबी र अन्य प्रहरी कार्यालयहरूले अनुसन्धान अघि बढाएको विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा थप भनिएको छ, “चोरी तथा लुटपाट भएका सामानहरूको खरिद, बिक्री तथा सञ्चय गरेको पाइएमा प्रचलित कानुनबमोजिम अनुसन्धान गरी कारबाही गरिनेछ।”

प्रहरीले सर्वसाधारणसँग अपिल गरेको छ कि कसैले लुटिएका सामान बिक्रीका लागि ल्याए वा कसैले ती सामान किनेको जानकारी पाएमा नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई तत्काल खबर गरियोस्। साथै, यदि कसैले यस्तो प्रकारका सामान फेला पार्यो वा प्राप्त गर्यो भने त्यस्ता सामान तुरुन्त नजिकको प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरिएको छ।

प्रदर्शनको अराजक अवस्थाको फाइदा उठाउँदै आपराधिक समूहहरूले विभिन्न स्थानबाट महत्वपूर्ण कागजात र धनमाल लुटेर सामान्य बजारमा बेच्ने प्रयास गरेको हुनसक्ने आशंकासहित प्रहरीले स्थानिय तह र सुरक्षा निकायसँग समन्वय गरी थप अनुसन्धान र नियन्त्रणका कार्यहरू अघि बढाइरहेको बताएको छ।

note.JPG