दक्षिण भारतीय चर्चित अभिनेता कोटा श्रीनिवास रावको निधन

0 Shares

मुम्बई( दक्षिण भारतीय फिल्म क्षेत्रमा दशकौँसम्म आफ्नो दमदार अभिनयले दर्शकको मन जित्न सफल अभिनेता कोटा श्रीनिवास रावको निधन भएको छ। ८३ वर्षको उमेरमा उनको निधन भएपछि भारतीय मनोरञ्जन क्षेत्रमा शोकको लहर छाएको छ।

चार दशकभन्दा लामो अभिनय यात्रा गरेका रावलाई दर्शकहरूले भिलेन,चरित्र अभिनेता र हास्य कलाकारका रूपमा अत्यन्त रुचाएका थिए। तेलुगु फिल्म उद्योगका दिग्गज कलाकारको निधनलाई फिल्म क्षेत्रले अपूरणीय क्षतिको रूपमा लिएको छ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन। चन्द्रबाबु नायडूले सामाजिक सञ्जाल एक्स ९पूर्व ट्विटर० मा रावको निधनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

रावले सन् १९७८ मा तेलुगु फिल्म ‘प्राणम खरीदु’ मार्फत आफ्नो फिल्मी यात्रा सुरु गरेका थिए। करिब ४० वर्षको करियरमा उनले ७५० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए।

कोटा श्रीनिवास राव केवल कलाकार मात्र होइनन्, उनी राजनीतिमा पनि सक्रिय थिए। सन् १९९९ देखि २००४ सम्म उनी आन्ध्र प्रदेशको विजयवाडा ईस्ट क्षेत्रबाट विधायकको रूपमा निर्वाचित भई जनसेवामा समर्पित थिए।