मुम्बई — भारतीय क्रिकेट भन्नु नै बम्बई क्रिकेट हो । यस्तै भनिन्छ, मुम्बईतिर । बम्बई अचेल मुम्बई भएको छ । मुम्बई क्रिकेटकै घर हो, वानखेडे स्टेडियम । यहीं नेपालले आइतबार आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको सुरुआत गर्दै छ ।
त्यो पनि प्रतियोगिताकै सबैभन्दा बलियो टिम इंग्ल्यान्डविरुद्ध खेलेर । कुल २० टिमसम्मिलित प्रतियोगिता भने शनिबार सुरु हुनेछ । यस विश्वकपको भारत र श्रीलंका दुई आयोजक देश रहेका छन् ।
पछिल्लो समय ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा लयमा रहेको टिम भन्नु नै इंग्ल्यान्ड हो । नेपाल प्रतियोगिताको समूह ‘सी’ मा छ । जति प्रतिद्वन्द्वी छन्, सबै बलिया छन् । इंग्ल्यान्ड र वेस्ट इन्डिज त यो विश्वकप इतिहासमै सबैभन्दा सफल दुई टिम हुन्, समान दुईपल्ट च्याम्पियन भएको आधारमा । स्कटल्यान्ड र इटालीले तेर्स्याउने चुनौती पनि कम्तीको हुने छैन । सम्भवतः प्रतियोगिताका चार समूहमध्ये सबैभन्दा नजिकको प्रतिस्पर्धा अपेक्षा गर्न मिल्ने यसमै हो ।
यही कडा चुनौतीसामु नेपालले आफूलाई प्रस्तुत गर्दा त्यो अवसर हुनेछ । त्यो साँच्चै वास्तविक परीक्षा हुनेछ । अझ नेपाली खेलकुद इतिहासमै नेपालले खेल्ने लागेको यो नै सबैभन्दा ठूलो विश्व खेलको मञ्च हुनेछ ।
यस्तोमा नेपालको प्रदर्शन कस्तो हुनेछ छ त ? नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल कति धेरै आत्मविश्वासी छन् भने सिधै भन्छन्, ‘लक्ष्य त अन्तिम आठ नै हो ।’ के यो सम्भव छ त ? यसको जवाफ पनि कप्तान रोहितसँगै छ ।
‘हामी यस विश्वकपमा राम्रो प्रदर्शन दिन सक्षम छौं । हामीले ट्वान्टी–२० क्रिकेटमा वेस्ट इन्डिजलाई हराएका मात्र छैनौं, उनीहरूविरुद्ध सिरिज नै जितेका छौं । हामी बंगलादेश र दक्षिण अफ्रिकाविरुद्ध जितको निकै नजिक पुगेका छौं । अब हाम्रो लक्ष्य ठूला प्रतिद्वन्द्वीविरुद्ध जित निकाल्नु नै हुनेछ ।’ यस विश्वकपका दुई आधिकारिक वार्मअप खेलमा प्राप्त जितले पनि नेपाली उत्साही रहेको हुनुपर्छ । नेपालले सुरुमा यूएईलाई हराएको थियो, त्यसपछि क्यानडालाई ।
रोहित भन्छन्, ‘हामी अहिले जति पनि खेलाडी छौं, सन् २०१४ मा नेपालले खेलेको पहिलो ट्वान्टी–२० विश्वकपबाट प्रेरित थियौं । अब हाम्रो खेलले नयाँ पुस्ता प्रेरित रहनुपर्छ ।’ नेपालसँगै प्रतियोगितामा एसोसिएट देशको प्रतिनिधित्व गरेर अमेरिका, नेदरल्यान्ड्स, नामिबिया, ओमान, इटाली, स्कटल्यान्ड, क्यानडा र यूएईले खेलिरहेका छन् । क्रिकेट पण्डितहरू के मानिरहेका छन्, पछिल्लो समय एसोसिएट देशको प्रदर्शनमा अझ सुधार आएको छ । यो क्रम अझ जारी रहनेछ ।
प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्वी रहेको इंग्ल्यान्डका विल ज्याक्सले पनि मुम्बईमा मिडियासँग भनेका छन्, ‘हामीले नेपाली क्रिकेटबारे पछिल्लो समय धेरै सुनेका छौं, नेपाली क्रिकेटले यसबीच धेरै प्रगति गरेको छ । हामीले नेपालविरुद्धको पहिलो खेलमा गतिलो चुनौती सामना गर्ने अपेक्षा गरेका छाौं ।’ अमेरिकामा सन् २०२४ मा भएको विश्वकपयता अहिलेसम्मको प्रतियोगिताबीच ट्वान्टी–२० क्रिकेटमा लगातार सबैभन्दा राम्रो खेलेको इंग्ल्यान्ड टिम रहेको छ ।
नेपाललाई सूर्यकुमारको शुभकामना
भारतीय ट्वान्टी–२० क्रिकेट टिमका कप्तान सूर्यकुमार यादवले अबको विश्वकपमा नेपाली टिमलाई आफ्नोतर्फबाट धेरै शुभकामना र सफलताको कामना गर्न चाहेको बताए । उनले नेपाली टिमको प्रगतिमा आफू खुसी रहेको पनि सुनाए । कान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘नेपाली क्रिकेटप्रति मेरो जहिले पनि सकारात्मक धारणा छ । म नेपाली टिमको सफलताको कामना व्यक्त गर्छुं र शुभकामना भन्न चाहन्छु ।’
उनले क्रिकेटको मैदानमा कुनै पनि टिमका लागि आफ्नो वास्तविक प्रदर्शन गर्ने ठाउँ रहेको र नेपालले पनि त्यसमै आफूलाई प्रमाणित गर्नुपर्ने बताए । उनले भने, ‘क्रिकेटको मैदान नै सबैका लागि आफूलाई प्रमाणित गर्ने ठाउँ हो । नेपालले राम्रो गर्नुेपर्ने पनि यहीं हो । नेपाली क्रिकेटले आफूमा जे जस्तो छ, जति सकिन्छ मैदानमै देखाउनु हो । नेपाली टिम यसमै केन्द्रित हुनुपर्छ । नेपाली टिम, नेपाली क्रिकेट समर्थकलाई म यही सन्देश दिन चाहन्छु ।’
सूर्यकुमारले वानखेडे स्टेडियममा खेल्न लागेका टिमलाई केही सुझाव पनि दिन चाहे । वानखेडेमा बेलुका खेल हुने स्थितिमा शीतले ठूलो भूमिका खेल्न सक्ने मानिएको छ । यसबारे उनले भने, ‘शीतले कस्तो भूमिका खेल्ने हो, त्यसमा मात्र धेरै ध्यान दिन आवश्यक छैन, किनभने यो हाम्रो हातको कुरा होइन । हाम्रो हातमा हाम्रै प्रदर्शन मात्र छ । शीतका कारण कहिलेकाहीं ब्याटिङ गर्ने टिमलाई फाइदा हुन्छ भने कहिलेकाहीं हुन्न । त्यसैले टिमको ध्यान आफ्नै खेलमा केन्द्रित रहे राम्रो हुनेछ ।’