नेकपा माओवादी केन्द्र फेरि फुटेको छ। नेता जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमाथि असन्तुष्टि जनाउँदै ‘प्रगतिशील अभियान,नेपाल’ घोषणा गरेका छन्।
प्रचण्ड संयाेजक रहेको नेकपा माओवादी केन्द्रसहित आठ दलबीच हुने भनिएको एकताप्रति असन्तुष्टि जनाउँदै नेता शर्माले मंगलबार ललितपुरमा गरेको पत्रकार सम्मेलनबाट ‘प्रगतिशील अभियान,नेपाल’ घोषणा गरेका हुन्।
शर्माले आफूहरूको कमजोरी स्वीकार गर्दै नयाँ सोच, नयाँ पुस्ता र नयाँ अभ्याससहित अघि बढ्ने बताए। उनले भने, ‘प्रगतिशील अभियान, नेपाल’ ले विखण्डित वाम तथा प्रगतिशील शक्तिलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा लैजाने दीर्घकालीन राजनीतिक प्रयास सुरु गर्नेछ।’
यसअघि पनि माओवादी आन्दोलनबाट अनेक टुक्रा छुट्टिएका छन्। मुख्यगरी मोहन वैद्य ‘किरण’ को नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ को नेकपा, डा.बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टी छन्। अब शर्माको ‘प्रगतिशील अभियान, नेपाल’ ले माओवादी आन्दोलनको अर्को नयाँ टुक्रा थपेको छ।